केन्यामाथि नेपाल ५ विकेटले विजयी

70
फाइल तस्बिर।

केन्यासँगको पहिलो टी–२० सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको छ । केन्याको नाइरोबीमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले जितका लागि १३१ रनको मध्यम लक्ष्य पाएको थियो । सो लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । उनले २४ बलमा २ छक्का र १ चौका हिर्काए । नेपाललाई जित दिलाउने क्रममा आरिफ शेखले अविजित २४ रन बनाए । उनले १५ बलमा १ छक्का र ३ चौका हिर्काए । त्यस्तै केही समयपछि टोलीमा पुनरागमन गरेका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे ।

ओपनर आसिफ शेखले २७ बलमा १९ रन जोडे ।

केन्याका लागि लुकास ओलुच र विराज पटेलले समान २/२ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । उसका लागि विकेटकिपर इर्फान करिमले सर्वाधिक ३४ रन बनाएका थिए । त्यस्तै लुकास ओलुचले ३१ तथा नेल्सन ओधिआम्बोले १९ रन बनाएका थिए ।

केन्यालाई मध्यम स्कोरमै रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ तथा आदिल अन्सारी र दिपेन्द्रको नाममा १/१ विकेट रह्यो ।

पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ । खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here