खेलकुदमन्त्री गहतराजले बर्दियाका खेल संरचनाको गरे अनुगमन (तस्बिर)

34

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरीक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएकाक हुन् ।

स्थानीय तहको सहभागिताबिना कुनै पनि योजनाले पूर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडास्तरबाट खेल पूर्वाधार निर्माणका लागि बजेटको केही अंश छुट्टाउन समेत आग्रह गरे । निर्माणाधीन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भइसकेका खेल संरचनालाई बचाइराख्न स्थानीयस्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मगरपुरमा कवर्ड हल निर्माण गरिएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल संचालन भएपनि त्यसयता प्रयोगविहिन थियो ।

स्थानीयहरूले कवर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुमसहित खेलाडीका लागि आवास गृह निर्माण गर्न पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए । खेल संरचना खडा भएपनि त्यसले पूर्णता नपाउँदा खेल गतिविधिहरू सञ्चालन गर्न नसकिएको भन्दै उनीहरूले आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

यसैबिच शनिबार नै मन्त्री अथकले बाँसगढी नगरपालिका वडा नं. ८ को हिरापुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गरे । १२ बिगाह क्षेत्रफलमा फैलिएको उक्त मैदानलाई जिल्लाकै महत्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here