यू–१९ एसिया कपको उपाधि छैठौँ पटक भारतको कब्जामा

484

कोलम्बो : एसीसी यू–१९ एसिया कपको उपाधि भारतले जितेको छ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादस रंगशालामा शनिबार भएको फाइनलमा ५ रनले बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि कब्जा गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले कमजोर प्रदर्शन गरेको थियो। उसले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको लक्ष्य पछ्याएको बंगलादेशले ३३ ओभरमा १०१ रन जोड्दा अल आउट भयो।

सुरुदेखि नै कमजोर व्याटिङ गरेको भारतका लागि करण लालले सर्वाधिक ३७ रन जोडे। कप्तान तथा विकेटकिपर ध्रुब जुरेलले  ३३ रन र शाश्वत रावतले १९ रन बनाए। तर अन्यले भने दोहोरो अंकको योगफल बनाउन सकेनन्।

बंगलादेशका लागि शामिम हुसेन र मुत्युन्जय चौधरीले ३–३ विकेट लिए। त्यस्तै तान्जिम हसन सकिब र शाहिन आलमको नाममा १–१ विकेट रह्यो।

जवाफमा १०७ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि क्याप्टेन तथा विकेट किपर अकबर अलीले सर्वाधिक २३ रने जोडे। त्यस्तै मृत्युन्जय चौधरीले २१ र तान्जिम हसन सकिबले १२ रनको योगदान गरे।

सुरुवाती ब्याटिङ धर्मराएको बंगादेशलाई भारतका बलरले पूरै खेल अवधिभर दबाबमा राखे। ओपनर तान्जिद हसनले खाता खोल्न सकेनन्। बंगलादेशले १६ रन बनाउँदा आफ्ना चार ब्याट्स्म्यान गुमाइसकेको थियो। त्यसपछि आएका अकबर अलीले बंगलादेशको स्कोर उकासे पनि जितका लागि भने त्यो प्रयाप्त भएन।

भारतलाई सनसनीपूर्ण जित दिलाउन अथर्व अंकोलेकरले महत्वपूर्ण ५ विकेट लिए। उनले ३३औं ओभरमा बंगलादेशको अन्तिम २ विकेट लिएपछि भारतलाई जित दिलाउन सफल भएका हुन्। त्यस्तै आकाश सिंहले बंगलादेशको ३ विकेट झारे।

बिहीबारका लागि तय भएको भारत–श्रीलंका र बंगलादेश– अफगानिस्तानबीच हुने दुवै सेमिफाइनल खेल वर्षाले हुन नसकेपछि समूह चरणको अंकका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका थिए।

यू–१९ एसिया कपमा सहभागी भएको नेपाल समूह चरणबाट बाहिरिएको थियो। समूह बी मा रहेको नेपाल श्रींलंकासँग ५ विकेट र बंगलादेशसँग ६ विकेटले पराजित भयो। समूह चरणको अन्तिम खेलमा यूएईलाई  १६० रनको फराकिलो अन्तरले हराउँदै सुखद अन्त्य गरेका थियो।

यसअघि भएका ७ प्रतियोगितामा भारतले ५ पटक उपाधि जितेको छ। अफगानिस्तानले एक पटक र एक पटक भारत र पाकिस्तानले संयुक्तरुपमा उपाधि जितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here