प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : दोस्रो सेमिफाइनलमा लुम्बिनीमाथि प्रदेश १ को शानदार जित, फाइनलमा एपीएफसँग भिड्ने

650

लमही । लुम्बिनी प्रदेशको दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि शानदार जित निकालेको छ । शनिबार लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले १० विकेटको जित निकालेको हो ।

टस हारेर ५३ रनको विजय लक्ष्य पाएको प्रदेश १ ले मात्र ८.५ ओभरमै भेट्टायो । उसका लागि कप्तान रुबिना क्षेत्रीले २६ रन बनाइन् । उनले ३० बलको सामना गर्दै १ छक्का र २ चौका हिर्काउँदै २६ रन बनाएकी हुन् । त्यस्तै काजल श्रेष्ठले २ चौकाको मद्दतमा २२ रन बनाइन् । प्रदेश १ ले अतिरिक्त ७ रन पायो ।

यसअघि ब्याटिङ गरेको लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाइन् । उनले १ चौका हिर्काएकी थिइन् । उनीबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न संगीता राई र निमा तामाङले २/२ विकेट लिए । त्यस्तै कप्तान रुबिना क्षेत्रीको नाममा १ विकेट रह्यो ।

फाइनलमा एपीएफसँग भिड्ने

लुम्बिनी प्रदेशमाथिको शानदार जितसँगै प्रदेश १ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उसले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको सामना गर्नेछ ।

दुबै टिमलाई उपाधि दाबेदार मानिएको छ ।

एपीएफले पनि सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

फाइनल खेल आइतबार (भोलि) लमहीमै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here