काठमाडौं मेयर कपको उपाधि पुलिसलाई

526

काठमाडौं । काठमाडौं मेयर कपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले पुलिसलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पुलिसले २४.१ ओभरमै २ विकेट गुमाएर भेट्टायो ।

पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५९ रन जोडे । उनले नटआउट रहँदै २ छक्का र ७ चौका हिर्काए । त्यस्तै कुशल भुर्तेल र अनिल साहले १५/१५ रनको योगदान गरे भने दिपेन्द्रसिंह ऐरीले ११ रन जोडे ।

एपीएफका अभिनास बोहरा र भवन कार्कीले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको एपीएफका टप अर्डरका ब्याटसमेन क्रिजमा टिक्न सकेनन् । मध्य क्रमका ब्याट्समेनले केही सम्हालिएर खेलेपछि मात्र एपीएफको स्कोर सम्मानजनक स्थितिमा पुगेको हो ।

उसका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाएका थिए । त्यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८/१८ रन जोडेका थिए । ओपनर आशिफ शेख र कप्तान शरद भेषावकर शून्य रनमै पेभिलियन फर्किए ।

एपीएफको ब्याटिङलाई धराशायी बनाउन पुलिसका गुल्सन झा र सागर ढकालले उत्कृष्ट बलिङ गरे । दुबैले समान ४/४ विकेट लिए । त्यस्तै पवन सर्राफ र ललितनारायण राजवंशीको नाममा १/१ विकेट रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here