त्रिकोणात्मक सिरिज : नेपालको विष्फोटक ब्याटिङ ओझेलमा, नेदरल्यान्ड ३ विकेटले विजयी

690
तस्बिर : क्यान ।

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालको विष्फोटक ब्याटिङलाई ओझेलमा पार्दै नेदरल्यान्ड ३ विकेटले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

उसका बास दे लिदीले विष्फोटक ब्याटिङ गर्दै आफ्नो टिमलाई जित दिलाए । उनले नटआउट ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ तथा कप्तान पिटर सिलारले ३१ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । महङ्गा बलर सावित भएको उनले ४ ओभरमा ४८ रन खर्चिए । उनले नेपालका बलरलाई दबाब सिर्जना गरिरहेका कुपरको विकेट लिँदै नेदरल्यान्डको इनिङमा ब्रेक लगाए पनि त्यो जितका लागि प्रर्याप्त भएन ।

त्यस्तै करण केसी, अविनाश बोहरा र कुशल मल्लले समान १/१ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले सिरिजमा लगातार तेस्रो अर्धशतक प्रहार गरे । त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाएका थिए भने सोमपाल कामीले २१ रनको योगदान गरेका थिए ।

नेदरल्यान्डका भिवियन किङमा र कप्तान पिटर सिलारले २/२ विकेट लिए ।

अब नेपालले बिहीबार मलेसियासँग राउन्ड रोबिनको अन्तिम खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here