नेपालले आज इराकसँग खेल्दै, एसियाको फुटबल पावर हाउसविरुद्ध कस्तो होला नेपालको प्रदर्शन ?

282
तस्बिर : एन्फा

काठमाडौं । नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप फुटबल २०२२ को छनोटका चरणको खेल तयारीमा रहेका यी मुलुक दुई दशकपछि भिड्न लागेका हुन् ।

खेल नेपाली समयअनुसार आज (शनिबार) राति १० : १५ बजे सुरु हुनेछ ।

नेपालले एसियाको फुटबल पावर हाउसविरुद्ध कस्तो प्रदर्शन गर्ला, चासोको विषय रहेको विश्लेषकहरूले बताएका छन् । कतिपयले यो नेपालको ‘अग्निपरीक्षा’ रहेको बताएका छन् भने कतिपयले यसलाई सिक्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

यो नेपाल र इराक चौथो पटक भिड्न लागेका हुन्। यसअघि भएका तीनवटै भेटमा इराकले जित निकालेको छ। नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो। एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलको जित निकालेको थियो। यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो। उक्त खेलमा नेपालका नीराजन रायमाझीले एक गोल गरेका थिए।

यसैगरी सन् २००१ मा फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो। उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एकरएक गोल गरेका थिए।

दुई दशकपछि मैदान उत्रँदा दुवै टोलीमा युवा र अनुभवी खेलाडीको बाहुल्य रहेको छ। दुई दशकको अवधिमा इराकले एसिया कपको उपाधि जितिसकेको छ भने नेपाल दक्षिण एसियाली फुटबलमै सीमित बनेको छ। इराकले सन् १९८६ मा पहिलो पटक विश्वकप फुटबल खेलेको थियो। त्यसपछि भने विश्वकपमा छनोट हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here