टी–२० विश्वकप २०२१ मा दक्षिण एसियाली मुलुकका टोलीको सन्तोषनक प्रदर्शन, औसत नतिजा

256

टी–२० विश्वकप २०२१ मा दक्षिण एसियाली मुलुकका टोलीले राम्रो प्रदर्शन गरे पनि नतिजा भने औसत आएको छ । विश्वकपमा सहभागी १६ मध्ये दक्षिण एसियाबाट पाँच टोली सहभागी थिए ।

टेस्ट मान्यता प्राप्त टोलीहरू मात्र दक्षिण एसियाबाट विश्वकपमा सहभागी थिए । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले विश्वकपमा सहभागिता जनाएका हुन् । जसमध्ये तीन टोलीले सीधै सुपर १२ मा प्रतिस्पर्धा गरेका थिए भने श्रीलंका र बंगलादेशले सुपर १६ मा प्रतिस्पर्धा गर्नुपरेको थियो । अफगानिस्तान मध्य एसिया क्षेत्रमा रहे पनि उसलाई दक्षिण एसियामै समावेश गरिएको हो ।

सुपर १२ टोलीलाई दुई समूहमा बाँडेर सेमिफाइनल टोली तय गरिएको खेलमा पाकिस्तान बाहेक अन्य टोली शीर्ष चारमा पुग्न सकेनन् । सधैँ बलियो उपस्थिति जनाउने दक्षिण एसियाका टोलीले यसपटक औसत मात्र प्रदर्शन गरेका हुन् ।

यस्तो रह्यो टोलीको प्रदर्शन
बंगलादेश
सुपर १६ को समूह चरणमा बंगलादेशले ३ खेलमध्ये २ मा जित निकाल्दै सुपर १२ मा स्थान बनाएको थियो । तर सुपर १२ का ५ खेलमध्ये कुनै खेलमा पनि जित आत्मसात गर्न सकेन । पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित बंगलादेश दोस्रोमा इङ्ल्यान्डसँग ८ विकेटको हार व्यहोर्‍यो । श्रीलंकासँग प्रतिस्पर्धात्मक खेलेको बंगलादेश इङ्ल्यान्डसँग भने निरीह देखिएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजसँग झिनो रनले मात्र पराजित भएको थियो । सो खेलमा वेस्ट इन्डिज ३ रनले विजयी भएको थियो । चौँथो खेलमा भने दक्षिण अफ्रिकासँग बंगलादेश निरीह बन्यो । ६ विकेटले पराजित भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ८५ रन मात्रको झिनो चुनौती दिन सकेको थियो ।

पाँचौँ तथा अन्तिम खेलमा अझ बंगलादेश कमजोर देखियो । अन्तिम खेलमा अस्ट्रेलियासँग ८ विकेटले पराजित भयो । अस्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गरेको बंगलादेश १५ ओभरमा सबै विकेट गुमाएर ७३ रनमै समेटिएको थियो । ७४ रनको लक्ष्य अस्ट्रेलियाले ६.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो ।

यस हिसाबमा हेर्दा बंगलादेशको प्रदर्शन बिर्सनालायक बन्यो । यद्यपि सकिब अल हसन उत्कृष्ट पाँच बलरभित्र पर्न सफल भए । उनले ६ खेलमा २२ ओभर बलिङ गर्दै ११ विकेट लिएका थिए । उनले ५.५९ को इकोनमीमा बलिङ गरेका थिए ।

श्रीलंका
बंगलादेशमा सन् २०१४ को टी–२० विश्वकप जितेको श्रीलंकाले यस पटक सामान्य प्रदर्शन गर्‍यो । पहिलो समूह चरणमा उसले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह ‘ए’ को विजेता बन्दै दोस्रो समूह चरण अर्थात् सुपर १२ मा प्रवेश गरेको थियो ।

सुपर १२ को पहिलो समूहमा रहेको श्रीलंकाले पाँच खेल खेल्यो । जसमध्ये २ मा जित र ३ खेलमा हार व्यहोर्‍यो । उसले बंगलादेश र वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने इङ्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध विजयी हुन सकेन । उसको जितमा दुबै पटक एकै खेलाडी चरिथ असलंका म्यान अफ दी म्याच भए । यस हिसाबले उनको भरमा थियो कि भन्ने विश्लेषण हुन सक्छ । तर उनीबाहेक अन्य ब्याट्समेनले पनि राम्रो प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध पथुम निशांकले ५८ बलको सामना गर्दै ७२ रन जोडेका थिए । त्यस्तै भानुका राजपाक्षले पनि मध्यक्रममा सन्तोषजनक ब्याटिङ गरेका थिए ।

श्रीलंकाका वानिन्दु हसरंगाले सबभन्दा धेरै विकेट हात पारे । उनले ८ खेलमा १६ विकेट लिए । उनले ३० ओभर बलिङ गर्दै ५.२ इकोनमी कायम गरे । त्यस्तै आसलंका सर्वाधिक रनकर्ताको पाँचौँ स्थानमा रहे । उनले ६ खेलमा २३१ रन जोडे । यी दुवै खेलाडी आईसीसी विश्व टी–२० टिममा समेत परेका छन् । यस हिसाबमा श्रीलंकाको उपस्थिति सन्तोषजनक देखिन्छ ।

अफगानिस्तान
अफगानिस्तान टेस्ट राष्ट्रहरूमध्ये सबभन्दा कान्छो सदस्य हो । अफगानिस्तान र आयरल्यान्ड सँगै २२ जुन २०१७ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य बनेका हुन् । त्यसपछि अफगानिस्तानले लगातार उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ ।

अफगानिस्तानका खेलाडीको प्रदर्शन उत्कृष्ट देखिन्छ । कप्तान मोहम्मद नाबीको प्रदर्शन स्थिर छ । उनले खेल अवधिभर मध्यम क्रममा औसत ब्याटिङ तथा बलिङ गरे । रसिद खान, मुजिब उर रहमान, मोहम्मद शहजादलगायतले सन्तोषजनक प्रदर्शन गरे । यद्यपि कुनै पनि खेलाडी उत्कृष्ट पाँच तथा आईसीसी टी–२० टिममा पर्न भने सकेनन् ।

भारत
भारतले आईसीसी टी–२० विश्वकपको यस सिजनमा नतिजामुखी प्रदर्शन गर्न सकेन । सोही कारण आफ्नो मुलुकमा क्रिकेट टोलीले निकै आलोचना खेप्नु परिरहेको छ । पहिलो खेलमा पाकिस्तानसँगको १० विकेटको ‘लज्जास्पद’ हारले भारतलाई अझ हतोत्साहित पारेको हुन सक्छ । उसले दोस्रो खेलमा पनि न्यूजिल्यान्डलाई नतिजा सुम्पिदा पछिल्ला तीन खेल जिते पनि समूह चरणबाटै घर फर्किनुपर्‍यो ।

तीन खेलमा पनि उसले तुलनात्मक कमजोर टोली नामिबियामाथि पनि सोचेअनुरूप नतिजा निकाल्न सकेन । बलियो प्रभाव छोडिरहेको अफगानिस्तानमाथि जित हात पारेर विश्वकपमा जित यात्रा सुरु गरेको उसले स्कटल्यान्डमाथि प्रभावशाली जित निकाल्यो । नतिजाको हिसाबमा हेर्ने हो भने भारतको प्रदर्शन बिर्सनालायक रह्यो । त्यस्तै आफूभन्दा निकै कमजोर टोलीमाथि मात्र जित हात पार्नु पनि भारतका लागि अर्को सोचनीय विषय हुनसक्छ । आफू समानलाई उसले हराउन नसक्दा समूह चरणबाटै बाहिरिनु पर्‍यो ।

भारतका कुनै पनि खेलाडी उत्कृष्ट पाँच ब्याट्समेन र बलरमा पर्न सकेनन् । त्यस्तै आईसीसी टी–२० टोलीमा पनि कुनै खेलाडी पर्न सकेनन् ।

पाकिस्तान
यसपटक पाकिस्तान दक्षिण एसियाबाट सबभन्दा बलियो टोलीका रूपमा प्रस्तुत भयो । उसले भारतमाथि टी–२० क्रिकेटमा पहिलो पटक जित हात पार्दै इतिहास समेत रच्यो भने समूह चरणका सबै खेल जित्दै सेमिफाइनलमा पुग्यो । तर अस्ट्रेलियामाथि भने इतिहास रच्न सकेन । उसले हालसम्म अस्ट्रेलियालाई नकआउट चरणमा हराउन सकेको छैन ।

पाकिस्तानका कप्तान बाबर अजामले प्रभावशाली छाप छाडे । यसै कारण उनी आईसीसी टी–२० विश्व क्रिकेट टोलीको कप्तानसमेत बनेका छन् । उनले ६ खेलमा ३०३ रन जोड्दै सर्वाधिक रनकर्ता पनि बने । त्यस्तै तेस्रो स्थानमा पाकिस्तानकै मोहम्मद रिजवान परे । उनी विश्व टी–२० टिममा नपरे पनि शहिन अफ्रिदी १२औं खेलाडीको रूपमा अटाएका छन् । यस हिसाबमा दक्षिण एसियाबाट विश्वकप खेलेका ५ टोलीमध्ये पाकिस्तान सर्वोत्कृष्ट रह्यो । यद्यपि अन्तिम नतिजा भने अपेक्षाकृत हुन सकेन ।

र यो पनि
नामिबियाले पहिलो पटक टी २० विश्वकपमा शानदार उपस्थिति जनायो । उसले यसअघि टी २० विश्वकपमा स्थान बनाउन सकेको थिएन । यद्यपि सन् २००३ को एकदिवसीय विश्वकपमा भने छनोट भएको थियो । त्यसमा समूह चरणबाटै कुनै पनि खेल जित्न नसकी बाहिरिएको थियो । यसपटकको टी–२० विश्वकपमा भने सुपर १२ मा प्रवेश गर्न सफल रह्यो । सुपर १२ उसले स्कटल्यान्डलाई पराजित गर्‍यो भने टेस्ट मान्यता प्राप्त सबै टोलीविरुद्ध बलियो प्रदर्शन गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here